काठमाडौँ: भारत भ्रमणका क्रममा शुक्रबार मध्यप्रदेशको उज्जैन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यहाँका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे ।
साथै स्थानीयले दाहालको सम्मानमा नेपाल र भारतको झण्डा लिएर सडकमा ताँती लागेर सांस्कृतिक प्रस्तुति दिए ।दिल्ली, इन्दौर र उज्जैन जाने यो सडकमा प्रत्येक विद्युत्को पोल–पोलमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षीको तस्बिर राखेर स्वागत गरियो ।
त्यसैक्रममा भारतको वैश्नभ विद्यापीठ विश्वविद्यालयले पनि प्रधानमन्त्री दाहालको स्वागतमा कार्यक्रम राख्यो । तर त्यहाँ अनौठो दृश्य देखियो । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न बनाइएको ब्यानरमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखियो ।
यद्यपि साइडमा राखिएको ब्यानरमा भने प्रधानमन्त्री दाहाल, समकक्षी मोदीसँगै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानको तस्बिर थियो । यस्तै दाहालको थरसमेत दहल लेखिएको छ । यसअघि दिल्लीमा गरिएको स्वागतमा पनि उनको थर गलत लेखिएको थियो ।