पर्वत : बाँदरले आतंक मच्चाएपछि पर्वतको कुश्मा नगरपालिका ९ का वडाध्यक्ष राम शर्मा लामिछाने खेतबारीमा कुरुवा बस्न थालेका छन् ।
खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन अपनाएको अनेकौं उपाए कामयावी नभएपछि वडाध्यक्षसहित स्थानीयबासी कुरुवा बस्न बाध्य भएका हुन् । कुश्मा नगरपालिका–९ का १५ परिवारको एउटै फाँट छ । फाँटमा लगाइएका मकै, बोडी, सिमी बाँदरबाट जोगाउन वडाध्यक्ष लामिछानेसहित १५ जना आलोपालो खेतबारी रुँगेर बस्ने गरेका छन् ।
वडाध्यक्ष लामिछानेले बाँदरले बालीनाली नष्ट गरिदिने डरले खेतबारी रुगेर बस्नु परेको बताए । ‘खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै छ । तर, किसान ती घोगा घर भित्र्याउन पाइन्छ कि पाईंदैन भन्ने चिन्तामा छन्,’ उनी भन्छन्, ‘आफुलेभन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही बस्नुपर्ने बाध्यता परेपछि म पनि महिनामा दुई दिन खेतबारी रुँगेर बस्छु ।’
उनका अनुसार करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । तर, दिनहुँ बाँदर आउने भएकाले बाली जोगाउन हम्मेहम्मे परेको लामिछाने सुनाउँछन् ।
‘अझै एक महिना बाँदरबाट बाली जोगाउन निकै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ,’ उनले भने, ‘यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो । बाँदरबाट जोगाउन धेरै कोसिस गरिसक्यौं । तर, नसकेपछि अहिले आलोपालो गरेर खेतबारीमै बस्न थालेका हौं । अहिले बाँदर आएपछि कराउने होहल्ला गर्ने गछौं, अनि बाँदर भाग्छ । त्यसपछि बालीनाली जोगिन्छ ।’