धनगढी: बझाङमा लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आएका छैनन्। नयाँ भाडादर समायोजनविरुद्ध आन्दोलित यातायात व्यवसायीहरूले यातायात ठप्प पारेको चार दिन भइसक्दा समेत लामो दूरीका सार्वजनिक सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन्।
सार्वजनिक सवारीसाधन बन्द भएका दिनदेखि नै यातायात व्यवसायीसँग छलफल भए पनि अहिलेसम्म गाडी खुल्ने टुङ्गो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका सहायक हवल्दार दीपेन्द्र कठायतले बताए।
उनले भने, ‘आज बिहान मात्रै बझाङमा रहेका सबै सवारीसाधन लिएर यातायात व्यवसायीहरू धनगढी गएका छन्। धनगढीमा नयाँ भाडादर समायोजनको विषयमा छलफल भइरहेको छ।’
यातायातका साधन बन्द हुँदा जिल्ला बाहिर जाने र आउने यात्रु समस्यामा परेका छन्। विशेष गरी खेतीपाती लगाउने समय नजिक आइरहेकाले पनि रोजगारीका लागि भारत गएका बझाङी घर फर्किरहेका छन्। उनीहरूले कैलाली र कञ्चनपुरमा आफूहरू अलपत्र परेको गुनासो गरेका छन्।
पहुँचवालाहरू गाडी रिजर्भ गरेर आवतजावत गरिरहेका छन्। भाडा निर्धारण गर्ने सरकारले कार्यान्वयन गर्न नसकेको भन्दै अहिले सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। केही दिनअघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामो दूरीका सवारीसाधनको भाडादर तोकेको थियो।
जसअन्तर्गत धनगढीदेखि बझाङसम्मको भाडा १ हजार ४१ रुपैयाँ तोकिएको थियो। यातायात व्यवसायीहरूले भने पुरानै भाडा १ हजार २५० रुपैयाँ लिन पाउनुपर्ने बताएका छन्।
प्रदेश सरकारले एकलौटी रूपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीले यातायातका साधन चार दिनदेखि पूर्णरूपमा बन्द गरेका हुन्।