जनकपुरधाम: धनुषामा आफ्नै प्रेमिका मको बीभत्स हत्या गरी शव फालेको आरोपमा २२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१८ निवासी हाल जनकपुरधाममा बस्दै आएका मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेका छन्। पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ ।
आइतबार जेठ २८ गते साँझ ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–८ तारापट्टीस्थित स्व. रामचन्द्र दासको घर पछाडि २० मिटर दक्षिण पश्चिममा अवस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा एकल महिलाको शव बरामद भएको थियो ।
उक्त व्यक्ति स्व. रामचन्द्र दासकै श्रीमती ४२ वर्षीया उषा दास रहेको खुलेको थियो।
अनुसन्धानका क्रममा उनी दुवै प्रेमिप्रेमिका रहेको खुल्न आएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए।
ओमलाललाई उषाले पटकपटक विवाह गर्न दबाब दिएपछि उनले नमानेर टाढा रहन खोज्दा पनि उनलाई महिलाले नै खोजेर जबरजस्ती घरमा ल्याउने गरेको कुरा अनुसन्धानका क्रममा बयान दिएको एसपी खड्काले बताए।
जेठ २५ गते बिहीबार राति ११ बजेको समयमा ओमलाल र उषाबीच विवाहकै विषयमा विवाद हुँदा ओमलालले एक थप्पड हानेपछि उषा बाहिर निस्केर भाग्न लाग्दा घाँटी थिचेर मारेको कुरा स्वीकार गरेको उनले जानकारी दिए। उषाको मृत्यु भएपछि उनको शवलाई पोखरीको छेउमा लगेर खाल्डो खनेर गाडेर, महिलाले प्रयोग गर्ने मोबाइल समेत पोखरीमै फालेर ओमलाल भागेका थिए।