झापा: सादा पोशाकमा घुमुवाको रुपमा खटिएका सशस्त्र प्रहरीका निरीक्षकले सशस्त्र प्रहरीकै हवल्दार तथा जवानलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
झापाको सीमावर्ती क्षेत्र नकलबन्दामा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार तथा जवानलाई सशस्त्र प्रहरीको बराह बाहिनी पकलीबाट घुमुवाको रुपमा खटिएका प्रहरी निरीक्षक नभप्रभात राईले पानीमा डुबाउँदै भाटैभाटाले हानेको घटना सार्वजनिक भएको हो ।
कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् । उनीहरुको मेचीनगरको मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक राईको नेतृत्वमा तीन जना खटिएका थिए । राईले ड्युटीमा खटिएका हवल्दार तथा जवानलाई निर्घात कुटपिट गर्न थालेपछि भेला भएका स्थानीयबासीले निरीक्षक राई तथा उनको टोलीलाई कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
बराह बाहिनी पकलीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।