धनगढीः कञ्चनपुरको बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि काम चालु भएको छ। पुल निर्माणका लागि सम्झौता भएको ८ वर्षदेखि अलपत्र पारिएको पुल निर्माणको काम हिजोबाट सुरु भएको हो।
स्थानीयका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले पहल गरेर ठेकेदार र निर्माण कम्पनीलाई हाँटहुँट पारामा चेतावनी दिएपछि काम थालिएको हो। काम सुरु भएपछि स्थानीयहरु खुसी भएका छन्। पुल निर्माणको जिम्मा पाएको थेगिम गाल्वा जेभी कैलालीले समयमै काम सम्पन्न नगर्दा पुल निर्माण कार्य अलपत्र परेको थियो। पुलको काम रोकेर अलपत्र छोडेको थाहा पाएपछि प्रदेश सांसद भाटले पहल गरेको र काम सुरु भएको बताइएको छ।
कृष्णपुरको वडा नम्बर १ स्थित ओदाल खोलामा पुल नहुँदा जनतालाई सास्ती भइरहेको थियो। यस्तै वर्षायाममा स्थानीयहरुले खोला तर्दा अकालमै ज्यान गुमाउनपर्ने अवस्था देखिएपछि सांसद भाटले पहिलो प्राथमिकतामा राखेर पुलको निर्माण कार्य अगाडी बढाउन भनेको बताए।
ओदाल खोलाको पुल २०८० सालभित्र निर्माण सम्पन्न गर्न सो कम्पनीले प्रतिबद्धता जनाएको सांसद भाटले जनाए। “एक दशकसम्म यो ओदाल खोलाको पुल किन सम्पन्न भएन ? यस अघिका जनप्रतिनिधि को को थिए उनै जानुन्। तर यसपटक यो पुल सम्पन्न गर्न म प्रतिबद्ध छु,” सांसद भाटले भने।
२०७३ भदौ १७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको काम २०७४ फागुन १७ मा सक्नुपर्ने समयावधि थियो। सो समयमा निर्माणको काम नसकिएपछि म्याद थप गरिएको थियो। त्यसपछि २०७८ चैत्र ३० गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म काम सम्पन्न हुन नसक्दा यहाँका स्थानीय आक्रोशित बनेका छन्।
ओदाल खोला हेर्ने साइड इन्चार्ज तारानाथ सिग्देलका अनुसार ३०/३० मिटरका दुई वटा स्पान बनाउनपर्ने पुलमा एउटा स्पान निर्माण भएको छ। पुलको भौतिक कार्य प्रगति ७५ प्रतिशत छ भने आर्थिक प्रगति ६१ प्रतिशत छ। अहिले भने पुल निर्माणको काम भइरहेको छ। सिग्देलका अनुसार फाउण्डेशन लगायतको काम सकिएको र स्पान निर्माणको काम जारी छ।