कञ्चनपुर : लघुबित्तहरूले बढि ब्याज असुली गरेको र लघुबित्तकै कारणले घरबास उठेको कुरा नौलो होईन। गाँउ बस्तीमा सहुलियत कर्जा प्रवाह गर्ने भनेर खुलेका यस्ता लघुबित्तहरू बास्तविक गरिब सम्म पुगेका छैनन ।यी यावत हर्कतमा मुछिदै आएका लघुबित्तले फेरी अर्को हर्कत गरेको छ, त्यो हो- बाहिरी व्यक्तिको नाममा किर्ते कागजात तयार गरी रकम हिनामिना ।
नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको र महेन्द्रनगरमा शाखा कार्यालय खोलेर काम गरिरहेको इन्फिनिटी लघुवित्त वित्तका एक कर्मचारीले बाहिरी व्यक्तिको नाममा किर्ते कागजात तयार गरी रकम हिनामिना गरेका छन् । सम्बन्धित व्यक्तिलाई थाहै नदिई कर्मचारीले नै उक्त रकम हिनामिना गरेका हुन् ।
ती कर्मचारीले एक पटक ऋण लिएर चुक्ता गरिसकेको व्यक्तिका नाममा पटक–पटक ऋण निकालिएको पाईएको छ । उनले एउटै व्यक्तिको नाम प्रयोग गरेर ३५ लाखसम्म ऋण निकालेका हुन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखाप्रमुख सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा १ करोड ३१ लाखसम्म हिनामिना भएको र निवेदनहरू आउने क्रम जारी रहेकाले हिनामिना रकम अझै बढन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।
जाहेरीका आधारमा अनुसन्धान गर्दा झन्डै डेढ करोड हिनामिना भएको देखिएको हो। लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी पश्चात प्रहरीले तत्कालीन शाखा प्रमुख जोशी, लेखा अधिकृत भागरथी कुँवर र बचतकर्ता शारदा थापालाई पक्राउ गरेको थियो। फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरू माथि बैंकिंङ कसुरअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी निरीक्षक चन्दले बताए।