काठमाडाैं : सरकारले अब वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिका व्यक्तिको निगरानी राख्ने भएको छ । आन्तरिक राजस्व विभागले मातहतका सबै कार्यालयहरूलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको छ ।
विभागले मंगलवार जारी गरेको निर्देशनमा वार्षिक ४० लाख रुपैयाँभन्दा वा सोभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिसँग कानूनअनुसार कर लिन भनिएको छ । विभागका अनुसार कतिपय करदाताको विवरण ४० लाख रुपैयाँभन्दा बढी आय भएको देखिएको तर अग्रिम कर कट्टी नभएको देखिएको छ ।
अग्रिम कर कट्टी गरेका तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गरेर कानूनअनुसार कर लगाउन विभागले यस्तो निर्देशन जारी गरेको हो । विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाएका तर कर नबुझाएका व्याक्तिबाट बाँकी कर असुल गर्न पनि यस्तो निर्देशन दिएको उल्लेख छ ।
विभागले आईटीएस प्रणालीमा सुधार गर्दै स्थायी लेखा नम्बर(प्यान) का आधारमा ४० लाख रुपैयाँ भन्दा बढी कमाउने व्यक्तिको विवरण हेर्न सक्ने व्यवस्था गरेको छ ।
टीडीएस परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरी नियमअनुसार टीडीएस रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको लगायतका टीडीएससम्बन्धी हेर्नुपर्ने सबै विषयको चेक जाँच, परीक्षणसम्बन्धी सम्पूर्ण कार्य गरी सोको प्रगति ईआईएमएसमा प्रविष्ट गर्न पनि निर्देशन मातहतका कार्यालयलाई दिएको छ । विभागको यस्तो निर्देशनले अब आयकर बुझाउने व्यक्ति फन्दामा पर्ने भएका छन् ।