टीकापुर: राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ। जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ।
आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो। यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए।
यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ। श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ हुने छ।
यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो। -गोरखापत्रबाट
Facebook Comments Box