काठमाडौं: झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बाँस्तोलालाई निलम्बन गरिएको जानकारी सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए। थापाका अनुसार निरीक्षक राईला गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो ।
उक्त घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक राईसहितको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दस्थित सीमा क्षेत्रमा खटिएका सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट गरेका थिए।
निरीक्षणको बाहनामा मादक पदार्थ सेवन गरेर राईसहितको टोलीले कुटपीट गरेपछि स्थानीयले समेत प्रतिकार गरेका थिए ।