काठमाडौँ: सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । नेपाल विद्यालय कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषद्ले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्राललयले सरकारको तर्फबाट वार्ता टोली गठन गरी संवादको वातावरण निर्माण गर्दै वार्तामा आउन आहृवान गरिएको र आम जनभावनाको उच्च कदर गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हालसम्म पनि ८ हजार, १३हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएकोले विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।
वार्ताको माध्यमबाट आफूहरुका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिए स्थगन गरिएका आन्दोलनका कार्यक्रमहरु पुनः अगाडि बढाइने चेतावनी समेत दिएको छ ।