काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।
सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बिचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।
जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए।
‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा पर्नुभएको बताउनुभयो’, रेशमले भने।
ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के-कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए।
गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका रेशम चौधरी पछिल्लो समय राजनीतिक भेटघाट र देश दौडाहामा व्यस्त छन्। उनले आजै धरानका मेयर हर्क साङपाङलाई भेट्ने कार्यक्रम छ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग राजनीतिक भेटघाट गरेका थिए।