काठमाडौँ: नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकता भन्दा पनि व्यक्तिको पहुँचको आधारमा रकम बाँडेको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे।
एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए। ‘कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ,’ सांसद तामाङले भने।
सुदूरपश्चिम सरकारका पूर्वअर्थमन्त्री समेत रहेका सांसद तामाङले शहरी विकास मन्त्रालयले कञ्चनपुरको पूनर्वासलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सरकारले जग्गा एकीकरण गरेर पूर्वाधार निर्माण गर्ने भनेर डीपीआर बनाउन करोडौं खर्च भएपनि सुदूरपश्चिममा बजेट विनियोजन नभएकोमा आपत्ति जनाए।
‘सरकारले कञ्चनपुरको पुनर्वासमा कहिले बजेट विनियोजन गर्दैन। राजा र पञ्चायत कालमा पुनर्वासमा १० हजार हेक्टरमा व्यवस्थित वस्ती बसालिएको छ। अहिले सरकारले मध्य लोकमार्गले छोएको पहाडी क्षेत्रमा १० वटा स्मार्ट सिटीको योजना राखेको देखियो,’ उनले भने, ‘नयाँ शहर भनेर ५२ वटा कार्यक्रम घोषणा समेत गरेको रहेछ। त्यसमा १ करोड बजेट विनियोजन गरेको छ। नयाँ नयाँ कार्यक्रम घोषणा गर्ने र करोडौं बजेट अरुमा घोषणा गर्ने यो राम्रो देखिएन। मैले पुनर्वासमा बजेट विनियोजन गर्ने विषयमा सबैसँग पहल गरे तर कसैले कुरा सुनेनन्,’ सांसद तामाङले भने।