धनगढी: जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) सागर सम्शेर जबरा अस्ति असार ७ गते सम्मानित भए। उनी २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका थिए। आफ्नो जिम्मेवारी त्रुटिरहीत तरिकाले निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो।
यस्तै, मातहातका क्षेत्रहरुमा पनि अप्रिय घटनाको अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरेको भन्दै उनले स्याबासी पाएका थिए। बाराका एसपी होबिन्द्र बोगटीले उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका थिए। तर त्यो सम्मान ग्रहण गरेको भोलिपल्ट नै उनी कारबाहीमा परेका छन्।
हिजोमात्रै मधेस प्रदेशमा लामो समयदेखि कार्यरत घुमुवा प्रहरीहरूलाई पहाडी जिल्लामा खटाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा ती सागर सम्शेर जबरा पनि रहेका छन्। प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो।
उनीहरुले मधेसमा सादा पोसाकमा बसेर काम गर्दै आएकोले सरुवा गरिएको बताइएको छ। जसमा बारामा कार्यरत रहदा सम्मानित भएका जबरालाई रामेछाप खटाइएको छ। यता जबराले भने बारामा कार्यरत प्रहरीकै आफूभन्दा जुनियर अधिकृतहरुले डाहा गरेर आफूविरुद्ध षड्यन्त्र गरेपछि सरुवा भएको बताएका छन्। उनले आफू घुमुवा नबसेको पनि जनाएका छन्।