काठमाडौं: हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ। चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को ज्यान गएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन्। चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उनको आग्रह छ।