कैलालीः कैलालीको धनगढीमा विद्यालय भर्ना भएका प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको सहकार्यमा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले स्वास्थ्य तालिम केन्द्रमा विद्यालय भर्ना भएका १० जना बालबालिकाहरूलाई झोला, कापी, कलम, इरेजर, सिसा कलम, कलर पेन, स्केल, सामान्य ज्ञान, पानीको बोतल र ज्योमेट्री बक्सलगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको हो।
कार्यक्रममा कुष्ठ प्रभावित व्यक्तिहरूको अधिकार तथा प्राप्त सेवाका बारेमा अभिमुखिकरण गरिनुका साथै प्रदेश स्तरीय कुष्ठरोग रोकथाम कार्यक्रमको समिक्षा पनि गरिएको थियो। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले प्रभावित बालबालिकाहरूलाई नियमित औषधीको सेवन गरि रोगमुक्त हुन तथा रोग सर्ने क्रमलाई तोड्न आग्रह गरे।
उनले प्रदेश सरकारले कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि निशुल्क औषधी, निशुल्क स्वास्थ्य बीमा तथा अन्य राहतका प्याकेजहरूको व्यवस्था गरेको जानकारी गराउँदै उपलब्ध सेवाहरूको लाभ लिनुपर्नेमा जोड दिए। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कुष्ठरोग रोकथाम कार्यक्रमका संयोजक राजिब अवस्थीले आर्थिक अभावका कारण विद्यालय जान नसक्ने अवस्थामा पुगेका प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बताए।
उनले प्रभावित अति विपन्न परिवारलाई जीविकोपार्जनका लागि सिपमुलक कार्यक्रमहरू पनि प्रदान गर्न सकिने बताए। संयोजक अवस्थीले कुष्ठरोग रोकथाम कार्यक्रम सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै कार्यक्रममा आ-आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरे।
एनएलआर नेपालका कुष्ठरोग सुपरभाईजर प्रकाश मल्लले समयमै रोग पत्ता लगाएर नियमित रूपमा उपचार गरे कुष्ठरोग पूर्णरूपमा निको हुने र अरूलाई सार्नबाट समेत जोगिने भएकाले समयमै सचेत भएर उपचार गर्नुपर्ने बताए। उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूको आत्मसम्मान हुने गरी व्यवहार गर्नुपर्नेमा जोड दिए।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. जगदिश जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयका नीति, कानून, मापदण्ड योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की उपस्थित रहेका थिए।
स्वास्थ्य निर्देशनालयका क्षय तथा कुष्ठरोग अधिकृत मनोज प्रशाद ओझाले सहजीकरण गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य निरिक्षक शिवराज सुनार, सेती प्रादेशिक अस्पतालका कुष्ठरोग सम्पर्क व्यक्ति गिता चौधरी, कुष्ठ प्रभावित बालबालिकाहरू तथा उनिहरूका अभिभावकहरू साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।