काठमाडौँ: नेपाल प्रहरीले बिदा स्वीकृत नलिई लामो समयदेखि काममा नगएका डेढ दर्जन अधिकृतहरुको खोजी थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर रहेका १९ जना प्रहरी कर्मचारीको खोजविन सुरु गरेको हो ।
उनीहरुलाई बाटोको म्यादबाहेक आगामी सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । ‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा ऐ नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने’, सूचनामा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय, चितवनका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव, नेपाल प्रहरी संगीत विद्यालय, काठमाडौंका प्राविधिक प्रहरी जवान वसन्त गिरी र विदुर श्रेष्ठ, प्रहरी चौकी, कीर्तिपुरका प्रहरी जवान ऋषि पिठाकोटी थापामगर, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ गुल्म नम्बर ३, महाराजगञ्जका प्रहरी जवान सन्तोष भट्टसंग स्पष्टीकरण मागिएको छ ।
त्यस्तै, ललितपुरको कुपण्डोलस्थित सिआरबीमा दरबन्दी भएका प्रहरी जवान भुवन खत्री, नेपाल प्रहरी अस्पताल, गुल्म नम्बर १ कार्यशाखा, जगन्नाथदेवलका प्रहरी जवान वसन्त रोका र गुल्म नम्बर ३ का प्रहरी जवान किरण मजाकोटी, प्रहरी चौकी, चिचिलाका प्रहरी जवान किरण चेम्जोङ, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान शैलेन्द्र यादव, ईलाका प्रहरी कार्यालय, फेन्हाराका प्रहरी जवान मुकेश महतो नुनियालगायत पनि लामो समयदेखि लापता छन् ।