धनगढीः कञ्चनपुरका ९ पालिकाले खाना र खाजाको नाममा एक वर्षमा दुई करोड ५४ लाखभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखाको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा पालिकाहरुले खाना र विविध शीर्षक गरी दुई करोड ५४ लाख ६३६ रुपैयाँ खर्च गरेका हुन् । जसमा सबैभन्दा बढी बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८१० रुपैयाँ खर्च गरेको पाइएको छ ।
त्यसपछि कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३२४, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९६४, वेदकोट नगरपालिकाले ३१ लाख ४६ हजार २८५, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ३५, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार, दोधारा चाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८१८, लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार र बेलडाँडी गाउँपालिकाले १० लाख ३४ हजार खाजा–खानामा खर्च गरेको छ।
खाना र खाजामै यति ठुलो रकम खर्च भएको पाइएपछि स्थानीयले विकास निर्माणका कामभन्दा भ्रमण तथा अनावश्यक बैठक भत्ता लिने काममा मात्र आफूहरुका पालिकाहरु केन्द्रित हुने गरेको गुनासो गरेका छन् । साथै खाना तथा खाजाको शीर्षकमा मदिरा लगायतमा समेत खर्च हुने गरेको स्थानीयको आरोप छ।