धनगढी: नेपाल प्रहरीका एसएसपी दिल्लीराज विष्टले कंचनपुरका पत्रकार खेम भण्डारीलाई नियन्त्रणमा लिनुपर्ने जनाएका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज) कार्यालयका प्रमुख समेत रहेका उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्।
उनले लेखेका छन्, ‘खेम भण्डारीलाई यो राज्यको कानून लाग्छ कि लाग्दैन? लाग्छ भने नियन्त्रणमा लिएर अनुसन्धान होस्। लाग्दैन भने नागरिकहरुले आफ्नो कानून आफै बनाउनुपर्ने हुन्छ। राज्यको ध्यान जाओस्!’ कंचनपुरको निर्मला बलात्कारपछि हत्या प्रकरणको विषयलाई लिएर विष्टले भण्डारीलाई प्रहार गरेको हुनसक्ने बुझिएको छ।
निर्मला प्रकरणको अनुसन्धानका दौरान विवादित बनेर कारबाहीमा परेपछि अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पछि बढुवा भएर एसएसपी बनेका थिए। हिजो मात्रै फेरि भण्डारी (निर्मला प्रकरणमा विवादित पत्रकार) ले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई निर्मला केसमा जोड्दै समाचार प्रकाशन गरेका थिए। त्यसपछि विष्टले प्रतिक्रिया जनाएका हुन्।
उनले बादललाई पनि कटाक्ष गरेका छन्। ‘एउटा पूर्व गृहमन्त्री जसले विनाकारण आफ्नै छोरालाई विवादमा ल्याउँदा प्रतिवाद गर्न सक्दैन भने उसले आफ्नो मातहत कर्मचारीहरुको असल कामको के प्रतिरक्षा गर्न सक्थ्यो होला ?’ विष्टले लेखेका छन्।