काठमाडौं : गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्रन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै निर्देशन नदिएको बताएको छ ।
आर्थिक राष्ट्रिय दैनिकमा आज प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उक्त प्रष्टीकरण दिएको हो ।
नेपाल प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएर अदालतमा अभियोजन माग दाबी गरेपछि हाल मुद्दाको पुर्पक्ष भइरहेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन गर्ने जिम्मेवारी हो । भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबावरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ ।’