धनगढी: पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा ३ करोड २६ लाख रुपैयाँको चेक अनादर (बाउन्स) गरेको भन्दै होटल विक्रेता तथा पर्यटन व्यवसायी कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७९ चैत ५ मा निवेदन दिएका थिए।
त्यही दिन उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट कार्यालयको चलानी नम्बर ७७४६ मा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकाले संहिताको दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको थियो।
कैलाली प्रहरीले पनि सोही दिन जिल्ला प्रहरी परिसर अपराध अनुन्धान शाखा काठमाडौंलाई पत्र पठाएर पक्राउ गरी दाखिला गरिदिन अनुरोध गरेको थियो। श्रेष्ठविरुद्ध बैंकिङ कसुर मुद्दा अनुसन्धान अगाडि बढाइएको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ भने गरेको छैन। श्रेष्ठ पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता सञ्चालन गर्दा शिक्षा राज्यमन्त्री बनेका थिए।
पक्राउ पुर्जी जारी गर्दासमेत गृहप्रशासनले बेवास्ता गरेको र पक्राउ गर्न प्रहरी निरीह देखिएको भन्दै होटल विक्रेता महराले आक्रोश पोखेका छन्।
नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक सदस्य एवं धनगढीका पर्यटन व्यवसायी महराले श्रेष्ठलाई चार वर्षअघि २० करोड रुपैयाँ नगद र २० प्रतिशत आफ्नो सेयर रहने गरी तीनतारे होटल डिभोटी बिक्री गरेका थिए।