धनगढीः धनगढीमा मनोसमाजीक अपाङ्गताका सवालमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ। सुदूरपश्चिम प्रदेशमा मनोसमाजीक अपाङ्गताको सवाललाई उठान गराउनका लागि सञ्चारकर्मीहरू को भूमिकाका विषयमा रहेर उक्त छलफल गरिएको हो।
उक्त अन्तरक्रियाका क्रममा सहभागी तथा अन्य वक्ताहरूले आ–आआफ्नो क्षेत्रबाट विभिन्न महत्त्वपूर्ण कुराहरूको उठान र छलफल गरेका छन्। सोही क्रममा अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव नन्दराज भट्टले मनोसमाजीक अपाङ्गताको समस्या र चुनौतीका विषयमा प्रकाश पार्दै सुदूरपश्चिम प्रदेशमा सरकारले नजर अन्दाज गरेको र उनीहरूको लागि बजेट नछुट्टाएको बताएका छन्।
अपाङ्गता भएका मध्येपनि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू प्राय समाजीक, भौतिक, राजनीतिक कानुनी र दृष्टिकोण जस्ता विभेदमा पर्ने गरेको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोशिस)का कार्यक्रम संयोजक रबी लोचन पौडेलले बताए।
२०७८ सालको जनगणना अनुसार २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। २०७८ सालको जनगणना अनुसार नेपालभर ६ लाख ५४ हजार ७ सय ८२ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। ती मध्ये सुदूरपश्चिममा ७० हजार ८ जना , कैलालीमा २२ हजार ६ सय ६३ जना र धनगढी उपमहानगरपालिकामा २ हजार १ सय २८ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्।
मङ्गलवार कोशिश नेपालको आयोजना, पत्रकार महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको समन्वय र फेल्म नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो।