एबिसी टेलिभिजनका पोखरा संवाददाता गीता रानालाई समाचार संकलनको क्रममा बन्धक बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघको कास्की शाखाका कार्यसमिति सदस्यसमेत रहेका उनलाई समाचार संकलनको क्रममा स्याङ्जाको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले दुर्व्यवहार गर्दै बन्धक बनाएर प्रहरीको जिम्मा लगाएपछि महासंघको केन्द्रीय समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
नगरपालिकाको कार्यालयको तस्बिर खिच्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले उनलाई दुर्व्यवहार गर्दै एक घण्टा जति बन्धक बनाएको बताइन्छ । साथै, उनले खिचेका सबै तस्बिर र भिडियो ‘डिलिट’ गरेर प्रहरीको जिम्मा लगाएको महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
‘असार १२ गते मंगलबार नगरपालिका कार्यालयको तस्बिर खिचिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले किन तस्बिर खिचेको भन्दै पत्रकार रानालाई दुर्व्यवहार गर्दै एक घण्टाका कार्यालय परिसरमै बन्धक बनाएर खिचिएको सबै तस्बिर र भिडियो मेटाएर प्रहरीको जिम्मा लगाएका थिए’, विज्ञप्तिमा उल्लेख छ ।
अत्यन्त निन्दनीय र स्वतन्त्र पत्रकारितामाथिको प्रहार भएको ठहर गर्दै महासंघले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।