ललितपुर: ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी पक्राउ परेको छन् । हिजो अपरान्ह ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका थिए ।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई लामिछानेले कार्यकक्षमै आक्रमण गरी भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । हिजो दिँउसो कार्यकक्षमा काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले उनीमाथि हमला गरेका थिए । नियमविपरीत कार्य गर्नका लागि अनुचित दबाब दिँदै उनले नासु तामाङलाई हातपात गरी गम्भीर घाइते बनाएका हुन ।
तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरको फाँटमा हातपात गरेका हुन । कानुन व्यवसायी अधिवक्ता लामिछानेले साँझ ४ बजेर ३० मिनेट जाँदा तारेख लिन पुगेका थिए । पुनमाया मर्हजनविरुद्ध बद्री देशार भएको दुषित लिखत बदरसम्बन्धी मुद्दामा तारेख लिन पुगेका अधिवक्ता लामिछानेले फाइल खोज्दै गरेकी कर्मचारीमाथि हातपात गरेका थिए ।
उनले मिसिल तानी आफै कागजातहरु पल्टाई हेर्न थालेका थिए । नासु तमाङले मिसिल नहेर्नुस, कागजातहरु हराउछ, अहिले भिडभाड छ तपाइलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला भनेपछि उनले धेरै जान्ने हुन्छेस, तँ को होस रु तलाई देखाउँछु भन्दै तथानाम अपशब्द बोली मुख छाड़ी गालीगलौज गरी हातपात समेत गरेको प्रहरी परिसर जावालाखेलमा दायर गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।
घटनापछि उनले जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी पनि दिएकी छन्। मुक्का प्रहार लगत्तै अदालत परिसरबाट भाग्न लागेका लामिछानेलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । ललितपुर प्रहरीका अनुसार आरोपी लामिछाने प्रहरी नियन्त्रणमा छन् । प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको बताएको छ ।
कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ । त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।