जनकपुरधाम : धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहितका प्रहरीहरुबिरुद्ध किटानी जाहेरी परेको छ ।
सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी हुन् ।
जाहेरी दिने मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् ।
नगराइनका विनोदप्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीबिरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी हुन् ।
त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ एसपी विश्वराज खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा दिएकाले हुँदै नभएको घटनाको जाहेरी नलिने प्रतिक्रिया दिएका थिए ।त्यसपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँ समेत जाहेरी नलिएपछि मनिषाले हुलाकबाट पठाएकी छिन् ।
आरती मृत्यु प्रकरणको मिसिल सरकारी वकिल कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा थप बयानको लागि फर्काएपछि जेठ ३२ गते माइत पक्षका सदस्यलाई बोलाइएको थियो ।
जाहेरीमा उल्लेख ब्यहोरामा दिउँसो १२ बजे पुग्दा प्रहरीले सुरुमा आमा निर्मलाको बयान लिएका थिए । दिएको बयान र प्रहरीको लिखतमा फरक परेको भन्दै हस्ताक्षर गर्न नमान्दा प्रहरीले कुटपिट यातना दिनुको साथै दिउँसो ३ बजेदेखि राति १० बजेसम्म थुनामा राखेको जाहेरीमा उल्लेख छ ।
बयानका लागि आमा निर्मला, बुबा विनोद, बहिनी मनिषा, भाइ प्रेम र मामा सन्तोष प्रहरीमा पुगेका थिए । प्रहरीले लेखेको बयानमा पाँचैजनालाई जबरजस्ती सही छाप गर्न कर गरेको र नमान्दा डीएसपी गौतमसहितका प्रहरी कर्मचारीले कुटपिटसहित थुनेर शारीरिक तथा मानसिक यातना दिएको उल्लेख छ ।
दिदीको मृत्यु पश्चात विभिन्न निकायमा उजुरी जाहेरी किन दिएको, बयानमा किन हस्ताक्षर नगरेको भन्दै डीएसपी गौतमले हातले आफ्नो घाँटी न्याकेर उचाली भूँइमा बजारेको, लछारपछार गरेको, देब्रे कञ्चटमा झापडले र लात्तीबुटले तल्लो पेटमा हिर्काएको, गम्भीर चोटको कारण रक्तश्राव भएको, देब्रे कान नसुन्ने गरेको जाहेरीमा मनिषाले उल्लेख गरेकी छन् ।
बयानको लागि बोलाएर प्रहरी कार्यालयमा आफ्नो परिवारका सदस्यमाथि दिएको चरम यातनामा संलग्न प्रहरीलाई कारबाहीको माग जाहेरीमा गरिएको छ ।