काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो समयमा वैदेशिक रोजगारको नाममा, शैक्षिक कन्सल्टेन्सी तथा शैक्षिक परामर्शका नाममा, अनलाइन सामान बेचबिखन र सामाजिक सञ्जालमा विभिन्न प्रलोभन पार्ने हिसाबले ठगी भएको प्रहरीले जनाएको छ ।
प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौं जस्तो देशको राजधानीमा ठगी र चेक बाउन्सको अपराध बढेको बताए। एसएसपी कार्कीले पढेलेखेका र व्यवसाय गरेका नागरिकलाई अनपढ र व्यवसाय नगर्ने व्यक्तिहरूले ठगी गरिरहेको बताएका छन् । ‘नक्कली डाक्टरले सक्कली डाक्टर ठग्ने, व्यवसाय नगरेको व्यक्तिले व्यवसायी ठग्ने खालको प्रवृत्ति देखिएको छ,’ एसएसपी कार्कीले भने ।
आर्थिक वर्ष २०७९/०८० मा काठमाडौँ प्रहरीमा मात्रै ८ हजार ४ सय ४२ चेक अनादरका उजुरी परेको छन् । ठगीमा यो आर्थिक वर्षमा ३ सयभन्दा धेरै उजुरी परेको छ । एसएसपी कार्कीका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो ।