धनगढीः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लीले ’स्वस्थ मुटु, स्वच्छ मन, स्वास्थ्य नै मानव जीवनको पहिलो धन’ भन्ने मूल नाराका साथ मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर र बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।
कैलालीको धनगढी सहिद गेटमा रहेको अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त कार्यक्रमहरू गर्ने भएको हो । यही असार २३ गते शनिवारका दिन स्वस्तिक अस्पतालले मुटु सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो ।
शिविरबाट पुराना मुटुका बिरामी, पेसमेकर राखेका र मुटुको शल्यक्रिया गरेका बिरामी, उच्च रक्तचाप तथा रक्तचाप कम भइराख्ने बिरामी, उच्च कोलेस्ट्रोल तथा ट्राईग्लिसाइडका बिरामी, कुनै पनि मुटु सम्बन्धी समस्या भएर औषधी सेवन गरिराखेका लगायतका मुटु सम्बन्धी समस्या भएका बिरामीले असार २२ गते राति १२ बजेभित्र सम्पर्क गरी सेवा लिन सक्ने अस्पतालका अध्यक्ष महेशराज जोशीले बताए ।
अध्यक्ष जोशीका अनुसार अस्पतालले कोलेस्ट्रोल, ट्राइलिसाइड, एचडीएल, क्रेटीनाईन, हेमोग्लोबिन, युरिन आरईरएमई, इसिजी, मुटु सम्बन्धी समस्या देखिएका बिरामीलाई एक हप्ताको लागी औषधि, मुटु रोग विशेषज्ञद्वारा निःशुल्क परामर्श गरी सात प्रकारका सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने भएको छ । यस्तै, इन्ड्रोस्कोपी, टिएमटी, एबिपिएम, हल्टर, इकोकार्डियोग्राफी (इको) लगायतका अन्य निदानात्मक सेवाहरूमा भने ३० प्रतिशत छुट दिइने अध्यक्ष जोशीले बताए ।