डडेल्धुरा: अस्ति डडेल्धुरा सदरमुकाम बागबजारमा एक जीप दुर्घटना भयो। उक्त जीपमा सवार सबैले लागुऔषध(ब्राउन सुगर) प्रयोग गरेको अनुसन्धानबाट खुल्यो। सोही कारण जीप अनियन्त्रित भएर सडकबाहिर गएको जीपमा लगाइएको सीसीटिभी क्यामेराले पोल खोल्यो।
उक्त सीसीटीभी फुटेज हेरेपछि बागबजारका स्थानीय युवाले अभियान थाले, ती सबैलाई समात्ने अनि प्रहरीलाई बुझाउने। उक्त अभियान अन्तर्गत सुरुमै डडेल्धुरामा ब्राउन सुगर ‘सप्लाई’ गर्ने विस्ट थरका एक युवकलाई समातियो।
युवाहरुले उनलाई सामान्य सोधपुछ गरेपछि शुक्रबार जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको आदर्श युवा क्लबका अध्यक्ष आशिष बोहराले बताए। ‘हामीले बुझाएको केही बेरमा प्रहरीले उनलाई छाडेको थियो। हामीले उक्त सीसीटिभी फुटेज प्रहरीलाई दिएका थियौं। तर, प्रहरीले खानतलासी गर्दा केही नभेटेपछि उनलाई छाडिएको रहेछ’ आशिषले भने।
दोस्रो दिन (शनिबार)उक्त जीपका चालकलाई युवाहरुले समाते। पुन: ती विस्ट थरका सप्लायर्सलाई पनि समातियो। फेरि युवाहरुले प्रहरीलाई खबर गरे। खबर पाएपछि प्रहरीले टोली पठायो। ती दुवैलाई बुझाएपछि अर्का एक ब्राउन सुगर प्रयोगकर्तालाई पनि समातेर प्रहरीलाई बुझाएको अर्का स्थानीय आकाश गुरुङले बताए।
उनले भने, ‘ती प्रयोगकर्ता नयाँ रहेछन्। उनीसँग सोधपुछ गर्दा डोटीको बुडरमा एक ड्रग्स सप्लायर्स रहेको खुल्यो। हामीले सो जानकारी प्रहरीलाई दियौं।’ सोही विस्ट थरका युवकबाट सदरमुकामकै तुफानडाँडामा माछा बेच्ने युवक पनि लागुऔषध कारोबारमा रहेको खुल्यो। प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए।
शनिबार नै स्थानीयबाट स्याउलेमा रहेको ग्यारेजमा काम गर्ने एक भारतीय नागरिकले लागुऔषधी बिक्रीबितरण गर्ने गरेको जानकारी पाइयो। स्थानीय युवाको टोलीले तुरुन्तै स्याउले पुगेर उनलाई पनि नियन्त्रणमा लियो। ‘ती युवकलाई नियन्त्रणमा लिएर स्याउले प्रहरी पोस्टमा लग्यौं। केही छिनमा जिल्लाबाट प्रहरी टोली पुगेर नियन्त्रणमा लियो’ अर्का स्थानीय शुनिल तामाङले भने।
तामाङका अनुसार शुक्रबार र शनिबार गरि ४ जना लागुऔषध कारोबारी र प्रयोगकर्तालाई समातेर प्रहरीलाई बुझाइएको थियो। ती सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बुडरमा रहेका युवकलाई पनि झिकाएर अनुसन्धान थालेको छ।
शुनिल तामाङका अनुसार लागुऔषध दुर्व्यसनी कारण जिल्लाका युवा नराम्रो कुलतमा फसिरहेका छन्। विद्यार्थीसमेत यसको कुलतमा फसिरहेका कारण आफुहरुले ‘से नो टू ड्रग्स’ अभियान थालेर कारोबारी तथा प्रयोगकर्ताको जानकारी प्रहरीलाई दिने उनले बताए। युवाहरुले जिल्लाका मेडिकलले पनि चिकित्सकको परामर्शविना युवाहरुलाई लागुऔषधी बिक्री बितरण गरिरहेको बताएका छन्। सदरमुकामका केही मेडिकलले उक्त कार्य गरिरहेको सूचना पाएको भन्दै सरोकारवाला निकायलाई त्यस्तो कार्य बन्द गराउन आदर्श युवा क्लबले आग्रह गरेको छ।
प्रहरी निरीक्षक जोशीले युवाहरुको यस्तै साथ पाए जिल्लामा लागुऔषध दुर्व्यसनी नियन्त्रण हुने विश्वास दिलाएका थिए। उनले त्यस्तो कार्यमा संलग्नहरुको जानकारी दिन आग्रह गर्दै युवाहरुले थालेको अभियानको प्रशंसा गरेका थिए।