धनगढी: आजभोलि बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ। अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल।
आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन्। जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ। त्यही लतका कारण कैलालीमा एक बालकले ज्यानै गुमाउन पुगेका छन्।
ती ९ वर्षका बालकले आफ्नो प्राण नै लिएका छन्। अस्ति साँझ गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका छोरा पुन्टुले आफ्नै ज्यान लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बुवाआमासँग मोबाइल माग्दा नदिएपछि उनले रिसको आवेगमा आफ्नै ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पुन्टुले आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा सलले पासो लगाएको प्रहरीले जनाएको छ। प्रहरीले घटना थप अनुसन्धान गरिरहेको जनाएको छ।