काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्वा प्रेमिका तामाङ र कानून व्यवसायी अमिर लामिछानेबीच सहमति भएको छ ।
ललितपुर जिल्ला अदालत र ललितपुर बार एशोसिएशनको तर्फबाट आज गठित वार्ता समितिमा दुवै पक्षबीच अघिल्लो बुधबारको घटनालाई लिएर उप्रान्त द्वेष भाव नराख्ने र विवाद अन्त्य गर्ने सहमति भएको बताइएको छ ।
सहमतिपछि नेपाल बार एशोसिएशन र निजामती कर्मचारीहरुबाट घोषित विरोधका कार्यक्रम आजैबाट स्थगित भएको जनाइएको छ ।
सहमति पत्रमा प्रेमिका र लामिछानेले हस्ताक्षर गरेका छन् । साथै, ललितपुर जिल्ला अदालतका शाखा अधिकृत राम सजिवन महतो, अमृत घिमिरे, तर्कराज खनाललगायत र ललितपुर बार एशोसिएशनको तर्फबाट अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष काबुकृष्ण महर्जन र सचिन छोनाम मोक्तानले हस्ताक्षर गरेका छन् ।
‘उक्त घटनाको विषयलाई लिएर नेपाल बार एशोसिएशन तथा निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रमलाई आजैबाट स्थगित गरी सेवालाई सुचारु गर्ने,’ सहमति पत्रमा भनिएको छ, ‘यस विषयलाई लिएर सार्वजनिक रुपमा सामाजिक सञ्जाललगायतका माध्यमबाट विषयान्तर हुने गरी टीकाटिप्पणी नगर्न सबै पक्षलाई अनुरोध गर्दछौं ।’