विराटनगर : नेपाली कांग्रेसका कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापा मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गएको असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले सरकार गठनमा दाबी पेस गरेका हुन् ।
को हुन थापा ?
२०३४ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको विद्यार्थी राजनीतिबाट थापा कांग्रेसमा प्रवेश गरेका हुन् । उनी नेपाली कांग्रेस कोसी प्रदेश समितिका सभापति पनि हुन ।
२०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व लागि उनी बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय थिए । त्यसयताका विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा सक्रिय उनी प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिव/सभापतिको एक/एक कार्यकाल जिम्मेवारी सम्हालेका थिए । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापति भए ।
२०६१ माग १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही “कू”मार्फत सत्ता हातमा लिएपछि त्यसको विरोधमा उत्रिएका थिए । त्यसबेला शाही नेपाली सेनाको मातहातमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकको बंकरमा कठोर यातना दिएको थिो ।
वाणिज्यशास्त्रमा स्नातक गरेका थापाले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेताको छवि बनाएका छन् ।