धनगढी : स्वीडेन सरकार र युएन इन्टिग्रेडेड ट्रेनिङ सर्भिसको आयोजनामा हुन लागेको प्रहरी तालिममा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरु पनि सहभागी हुने भएका छन्।
आगामी कात्तिक ६ देखि १७ गतेसम्म स्वीडेनमा हुन लागेको ‘नेशनल पुलिस अफिसर (प्रि–डेभलभमेण्ट ट्रेनिङ)’ मा सहभागी हुन चाहने सशस्त्रका अधिकृतहरुको नामावली पठाउन अनुरोध गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयले महानिरीक्षकको सचिवालयलाई जानकारी गराएको पत्रमा युएन मिशन शाखा, विभाग, बाहिनी, एपीएफ, ईन्टिलिजेन्स ब्यूरो, नम्बर १९ गण हेडक्वार्टरमा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरुको विवरण पठाउने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ ।
तालिममा सहभागी हुन चाहनेले हवाई टिकट र भिसाको खर्च स्वयम् व्यहोर्नुपर्नेछ । त्यस्तै, खाने र बस्ने व्यवस्था आयोजकले व्यहोर्ने कार्यालयले जनाएको छ ।
तालिममा सहभागी हुन विभिन्न मापदण्ड तोकिएको छ । कुनै कारबाही तथा कारबाहीको प्रक्रियामा नरहेका, सेवा अवधि कम्तीमा सात वर्ष पूरा भएका, अंग्रेजी भाषामा राम्रो दख्खल भएकाले मात्रै तालिमको अवसर पाउनेछन् ।
त्यसैगरी, ‘एएमएस–२०२२’ उत्तीर्ण भई मिशनमा तैनाथीको निम्ति प्रतीक्षासूचीमा रहेकालाई प्राथमिकता दिइने बताइएको छ । तर, त्यस्ता अधिकृतहरुको विवरण साउन ५ गतेभित्र पठाइसक्नुपर्नेछ ।