काठमाडौँ: प्रहरी इन्स्पेक्टरले आफूलाई चरम यातना दिएको आरोप लगाएका प्रहरी जवानको आफ्नै कर्तुत छरपष्ट भएको छ । हाकिमले हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गरेका जवान अन्नुकुमार राय प्रहरी आचारसंहिताविपरीतको कार्य गरेको अभियोगमा यसअघि पटक–पटक कारबाहीमा परेको यथार्थ खुलेको छ ।
दुई दिनअघि सामाजिक सञ्जालमा ‘इन्स्पेक्टरले प्रहरी जवानलाई यातना दिएको’ एउटा भिडियो सार्वजनिक भयो । जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान रायलाई बाँधेर राखिएको भिडियो केही क्षणमा भाइरल भएको थियो ।
ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले पाता कसेर दुःख दिएको उनको आरोप थियो । उनका आफन्तले इन्स्पेक्टर राईलाई कारबाहीको माग गरे । यता, सामाजिक सञ्जालमा समेत चर्को बहस छेडियो । प्रहरी जवान रायमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक अभियन्ताहरुले पनि विरोध जनाएका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालयले उक्त घटनाबारे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति नै गठन गर्यो । यता, सिरहा प्रहरीले भने रायले लागुऔषध सेवन गरेर हंगामा मच्चाएपछि नियन्त्रणमा लिनुपरेको बताउँदै आएको छ ।
उनी यसअघि पनि पटक–पटक विभागीय कारबाहीमा परिसकेको विवरण बाहिर आउन थालेको छ । महोत्तरीको फुल्हठ्ठा पकौलीका राय विवादित पृष्ठभूमि भएका प्रहरी जवान भएको बताइन्छ । यसअघि बाटो हिँड्नेलाई समातेर कुट्ने गरेको स्थानीयले उनीमाथि कैयौंपटक आरोप लगाइसकेका छन् ।
उनै रायले इन्स्पेक्टर राईलाई विवादमा तान्न आफूलाई यातना दिएको भन्दै हल्ला गरेको विश्वस्त स्रोतको दाबी छ । जसअनुसार प्रहरी कार्यालयमै उग्र व्यवहार गरेपछि हत्कडी लगाउँदा उनले यातना दिएको आरोप लगाएका हुन् ।
स्रोत भन्छ, ‘ऊ पहिल्यैदेखि एकदमै विवादमा तानिएको व्यक्ति हो । विभिन्न काण्डमा मुछिएर पटक–पटक कारबाहीमा परिसकेको छ । सोमबार पनि त्यस्तै हर्कत देखाएपछि हत्कडी लगाइयो । तर, उल्टै इन्स्पेक्टरले यातना दिएको आरोप लगाउँदै सामाजिक सञ्जाल रंगाए ।’
२०७५ जेठ ७ गते नेपाल प्रहरीमा भर्ना भएका उनी दुई वर्षअघि निलम्बनमा परेका थिए । निषेधाज्ञा कार्यान्वयन गराउन गएका उनले स्थानीयको पसलमा मदिरा चोरेका थिए । ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा चोरेको सिसिटिभी फुटेजले सामाजिक सञ्जालमा तहल्का मच्चाएको थियो ।
त्यतिबेला उनीसहित इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर र प्रहरी जवान नरेशकुमार राय पनि कारबाहीमा परेका थिए । २०७८ जेठ ९ गते उक्त टोली निषेधाज्ञा कार्यान्वयनको निम्ति लहान नगरपालिका वडा नम्बर–२३, गढिया चोकमा खटिएको थियो ।
सोही स्थानको एसके मदिरा पसलमा केही व्यक्ति होहल्ला गरिरहेका थिए । प्रहरीले होहल्ला गर्नेलाई नियन्त्रणमा लिएसँगै पसलका साहुजी फरार भए । त्यही मौकाको फाइदा उठाउँदै उनले आफ्नो बर्दीभित्र चोरेको रक्सी लुकाएका थिए । उक्त सिसिटिभी फुटेज सामाजिक सञ्जालमा पोष्ट भएपछि सिरहा प्रहरीले उनीहरुलाई २०७८ जेठ १६ गतेदेखि साउन ८ गतेसम्म निलम्बन गरेको थियो । खाइपाइ आएको तलबबाट दुईवृद्धि घटुवा गरिएको थियो ।
तैपनि उनको आचरणमा सुधार नआएको प्रहरी अधिकारीहरु बताउँछन् । उनी लागुऔषध सेवनकर्तासमेत भएको सिरहा प्रहरीले जनाएको छ । पहिल्यैदेखि आफ्नो मनोमानी चलाउँदै आएका उनले दाहिने कमाण्डर, हवल्दार मेजर, सुवेदार मेजर तथा अन्य कुनै प्रहरी कर्मचारीलाई जानकारी नगराई विभिन्न स्थानमा गएर नशालु पदार्थ सेवन गर्ने गरेको विगतको रेकर्ड अहिले बाहिर आएको छ ।
प्रहरीका अनुसार उक्त दिनपनि नशालु पदार्थ सेवन गरेर उनले हवल्दार मेजर धर्मदेव यादवसँग झगडा गरेका थिए । हातपातको अवस्था सिर्जना भएपछि ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक ईन्द्रजित ठाकुर र प्रहरी निरीक्षक हेमन्त राईले उनलाई सम्झाईबुझाईको प्रयास गरेको बताइन्छ ।
तर, उनले आक्रोशित भई अपशब्द प्रयोग गर्न थाले । कार्यालयको मूलगेटमा ड्युटीमा रहेका प्रहरी जवान मिथलेशकुमार यादवले बोकेको राईफल खोस्न खोजेपछि उनलाई प्रहरी सहायक निरीक्षक रमानन्द यादवको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
कार्यालयभित्र आउन नमानेपछि उनलाई हत्कडी लगाइएको प्रहरीले जनाएको छ । त्यसपछि उनको स्वास्थ्य परीक्षणसमेत गराइयो । मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ९एसपी० महेन्द्रकुमार श्रेष्ठले यसविषयमा छानबिन भइरहेको जानकारी दिए ।
कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको संयोजकत्वमा गठित टोली छानबिनका लागि सिरहा पुगेको छ । टोलीले एकाध दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘यसबारे अनुसन्धान भइरहेको छ, अलिक गम्भीर विषय भएकाले समय लागेको हो । अबको एक–दुई दिनमै प्रतिवेदन आउँछ । त्यसपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।