धनगढीः विरामीलाई गुणस्तरीय सेवा दिने होडबाजीमा खोलिएका नीजि अस्पतालमा सरकारी डाक्टर देखिनु असामान्य भने होईन । तर सरकारी अस्पतालका डाक्टरको आडमा नीजि अस्पताल सञ्चालन गरिनु भने असामान्य हो । पछिल्लो समय यस्तै गतिविधिमा धेरै नीजि अस्पताल खालिएका छन् । यी नै प्रवृतिसँग मेल खाने गरि धनगढीको सेती प्रादेशिक अस्पतालको नजिकै २०७९ असार १७ गतेबाट संजीवनी अस्पताल प्रालि सञ्चालनमा आयो।
अस्पताल सञ्चालनको क्रममा गुणस्तरीय सेवा दिने उद्देश्यले शल्यक्रिया, भिडियो एक्स– रे, इसिजी, फार्मेसी, मुटुको भिडियो एक्सरे, डिजिटल एक्स–रे, अत्याधुनिक प्रयोगशाला लगातका सेवा दिने अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेतले बताएका थिए। १५ शय्याबाट उपचार सेवा सुरू गरे पनि सञ्चालनको १ बर्ष हुदाँसमेत अस्पताल चलाउने इजाजत भने पाउन सकेको छैन। धनगढीस्थित राष्ट्र बैंक र सेती प्रादेशिक अस्पताल नजिक दुई ठाउँबाट सञ्जिवनी अस्पताल सञ्चालन गरिएको छ। मंगलबार दिउँसो १२ बजे धनगढीको राष्ट्र बैंक नजिक रहेको उक्त सञ्जिवनी अस्पतालमा धनगढी–१३ कैलाली गाउँका ८० वर्षीय टेकबहादुर चन्द चिकित्सकको प्रतिक्षामा बसेका थिए। हातखुट्टा दुख्ने समस्या भएका चन्दलाई अस्पतालका कर्मचारीहरुले चिकित्सक शल्यक्रियामा रहेको भन्दै भोलि आउन भने।
उक्त अस्पतालमा पूर्णकालीन चिकित्सक नै छैनन्। अस्पतालको बाहिर सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरूको नाम लेखिएका फ्लेक्स बोर्डहरू लगाइएको छ। सञ्जीवनी अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर जगदीशचन्द्र बिष्ट , सर्जन डाक्टर शंकर अधिकारी र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन नाथ सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक हुन्। सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डाक्टर जगदीशचन्द्र बिष्ट संघमा दरबन्दी भए पनि काजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत छन्। त्यसैगरी, कन्सल्टेन्ट फिजिसियन डाक्टर सुमन चौधरी र दाँत तथा मुख रोग बिशेषज्ञ डाक्टर अमृतराज जैशीको नाम पनि अस्पतालमा कार्यरत चिकित्सक रहेको अस्पतालको अगाडिको फ्लेक्स बोर्डमा उल्लेख गरिएको छ
सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ (पहिलो संसोधन) को परीच्छेद ५ मा १५ शैयाको अस्पतालले आधारभूत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति सेवा, बालरोग तथा शिशु सेवा र सामान्य दन्त सेवा दिन पाउने उल्लेख गरिएको छ। साथै, १५ शैया सम्मका अस्पतालले सम्बन्धित चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा प्रदान गर्ने तर बिशेषज्ञ सेवा दिन मिल्ने छैन भनि उल्लेख गरिएको छ। त्यसैगरी, स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ (पहिलो संसोधन) को परीच्छेद ६ मा स्वास्थ्य संस्थामा जनशक्ति सम्बन्धी मापदण्डमा १५ शैययाको अस्पतालमा मेडिकल निर्देशक १ जना, क्लिनिकल सेवाको लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ १ जना, बाल रोग विशेषज्ञ १ जना र एमडीजिपि चिकित्सक १ जना तथा मेडीकल अधिकृत २ जना र डेन्टल हाईजिनिष्ट १ जना हुनुपर्ने उल्लेख छ।
तर, सञ्जीवनी अस्पतालले भने सेती प्रादेशिक अस्पतालका चिकित्सक देखाएर सञ्चालन स्वीकृती लिने दाउमा रहेको छ। अस्पतालले चार जना मेडिकल अधिकृत पूर्णकालीन नियुक्त गरिएको तथा विषेशज्ञ चिकित्सक भने आंशिक रुपमा काम गर्न आउने तय भएको जनाएको छ। तर पनि, अस्पताल सञ्चालनमा आएको एक वर्ष हुदाँ समेत अनुमति भने पाउन सकेको छैन। यस्तै, मापदण्डअनुसार १५ शय्याको अस्पतालका लागि डी वर्गको प्रयोगशाला हुनुपर्ने व्यवस्था गरिएको छ। धनगढी उपमहानगरपालिकाले बनाएको स्वास्थ्य संस्था दर्ता नवीकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धी कार्यबिधि, २०७७ ले १५ शय्याको अस्पतालका लागि स्थानीय तहले अनुमति प्रदान गर्ने र स्वास्थ्य संस्था सञ्चालनका लागि पूर्वाधार निर्माणको लागि निवेदन दिई परीक्षणका लागि अनुगमन समिति खटाउने सक्ने उल्लेख छ।
पूर्वाधार तयार भइसकेपछि सेवा सञ्चालनको लागि निवेदन दिने र निवेदन दिएको सात दिन भित्र अनुगमन समिति खटाउने, खटिएको अनुगमन समितिले स्थलगत निरीक्षणमा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्न उपयुक्त भए नभएको रायसहितको प्रतिवेदन धनगढी उपमहानगरपालिकाको कार्यपालिका समक्ष पेस गर्नु पर्ने उल्लेख छ। सञ्जीवनी अस्पतालले गत वर्ष सञ्चालन स्वीकृतीको लागि धनगढी उपमहानगर पालिकामा निवेदन दिएको थियो। उपमहानगरले पूर्वाधार निरीक्षण गर्दा उपयुक्त नदेखिएपछि प्रक्रिया रोकेको थियो। तर, सञ्जीवनी अस्पताल सोही ठाउँमै २५ शय्याको सञ्चालन अनुमति लिन स्वास्थ्य कार्यालय कैलाली पुगेको थियो। तर,स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटर भित्र निजी स्वास्थ्य संस्था चलाउन अनुमति दिन नमिल्ने बताएपछि उक्त प्रक्रिया पनि रोकिएको थियो। सञ्जीवनी अस्पतालले पुनः धनगढी उपमहानगरबाटै सञ्चालनको अनुमति लिन असार ४ गते निवेदन दर्ता गराएको छ।
सञ्जीवनी अस्पताल सञ्चालक दुष्यन्त बस्नेतले प्रारम्भिक प्रक्रिया पूरा गरेको र सञ्चालन अनुमतिको प्रक्रियामा रहेको बताए। उनले सस्तो उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याएको बताएका छन्। त्यस्तै, धनगढी उपमहानगरपालिका १ मा सञ्चालित अस्पताल हो, सारथी अस्पताल। यो अस्पताललाई भवन मापदण्ड पूरा नगर्दै धनगढी उपमहानगरले संचालन अनुमति दिएको थियो। उक्त अस्पतालसँग पनि आफ्नो जनशक्ति छैन। धनगढी उपमहानगरले उक्त अस्पतालको भवनको मापदण्ड नमिलेको भन्दै यो वर्ष भने नवीकरण प्रक्रिया रोकेको छ। धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अबस्थीले सारथी अस्पतालको भवनको मापदण्ड नमिलेकाले मापदण्ड पूरा गर्न केही समय दिएको बताएका छन्। भवनको मापदण्ड नमिलेमा खारेजीको प्रक्रिया अगाडि बढाइने अवस्थीले बताएका छन्।
धनगढी उपमहानगरपालिकाले बनाएको स्वास्थ्य संस्था दर्ता नवीकरण स्तरोन्नति तथा सेवा थप सम्बन्धी कार्यविधिमा अनुमति प्राप्त स्वास्थ्य संस्थाले सञ्चालन अनुमतिको अवधि समाप्त हुने मितिभन्दा अगाडि नै उपमहानगरमा निवेदन दिई अवधि समाप्त भएको तीन महिना भित्र नवीकरण गर्नु पर्ने उल्लेख छ।