बैतडी: बैतडीको पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरि बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन्।
पक्राउ परेकी श्यामाबिरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानपछि जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाच्नेदेखि लिएर औषधि विक्रि गर्ने काम गरिरहेकी फेला परेपछि प्रहरीले दुई हप्ता अगाडी नियन्त्रणमा लिएको थियो।
श्यामा क्लिनिक बिना अनुमती सञ्चालन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले गएको जेठ दोश्रो साता सिल गरेको थियो। तर पनि गाउँपालिकाले मेडिकल सञ्चालनका लागि अनुमति दिएको भन्दै पुनः बिरामी जाच्नेदेखि लिएर औषधि विक्रि गरिएको पाइएपछि उनलाई पक्राउ गरिएको थियो।
श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन्।