धनगढी: राप्रपाकी सुदूरपश्चिम प्रदेश सभामा एक्ली प्रदेश सभा सदस्यको रुपमा रहेकी खेमा विष्ट आलोचित बनेकी छन्। प्रदेश सभामा प्रतिपक्षी दलको प्रतिनिधिको रुपमा रहेकी उनले सुदूरपश्चिम सरकारको बजेट पास गराउन बार्गेनिङ गरेको भन्दै आलोचना भैरहेको हो।
शनिबार सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेका थिए। एमालेले पत्रकारहरु माझ बैठक बहिष्कारको घोषणा गरेको थियो। उसले सो प्रतिबद्धता अनुसार बहिष्कार पनि गर्यो। तर त्यहीँ बाचा गरेर बोली र प्रतिबद्धता फेरेकी प्रदेश सभा सदस्य विष्टलाई विभिन्न आरोप समेत लागेका छन्।
नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले राप्रपाकी विष्टले आफूहरुसंग एक सहमति गरेर अर्कै किसिमको निर्णय लिएको बताए। उनका अनुसार उनी प्रलोभनमा परेको हुनसक्ने अनुमान गरिएको छ। यस्तै उनले एमालेलाई र स्वयंलाई राजनैतिक बेइमानी गर्दै धोका दिएको आरोपसमेत लागेको छ।
सुरुमा बहिष्कारवादी बन्छु भनेकी उनी पछि रातारात प्रदेश सभा बैठकमा प्रकट भएकी थिइन्। स्रोतका अनुसार राप्रपाकी विष्टलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने बार्गेनिङ गरेर बैठकमा उपस्थित गराइएको हो।
प्रतिपक्ष बिना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि विष्टलाई अनुरोध गरेर नै प्रदेश सभा बैठकमा बोलाइएको बताइएको छ।
मुख्यमन्त्री कमलबहादुर शाह, अर्थमन्त्री नरेश शाही र नेकपा एसका दलका नेता दीर्घ सोडारीले प्रदेश सभा सदस्य विष्ट र राप्रपाका नेता छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएको स्रोतको दाबी छ।
समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ।
सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ। तर प्रमुख प्रतिपक्षी एमालेले प्रदेश सभा बहिष्कार गरेकोले राप्रपालाई सभापति दिने नीति सरकारले अख्तियार गरेको स्रोतको दाबी छ।
प्रदेश सभाबाट शनिबार राति ७ : ३० मा मुख्यमन्त्री शाह आफ्नो गाडी र सुरक्षाकर्मीको टोली छोडेर अर्थमन्त्रीको शाहीको गाडीमा पूर्वी दिशामा गएका थिए। सो गाडीमा नेता सोडारी पनि थिए। पछि उनीहरुले विष्टलाई साथमा लिएर आएका थिए।