धनगढी: जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ । प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतीमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरु धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ ।
प्रहरीको उपस्थितीमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमती गराउने काम गरिरहेको छ भने सहमती नजुटेका उजुरी थप कारवाहीका लागि प्रहरी र अदालत मुद्दा पठाइने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले उजुरी दिन तोकिएको अन्तिम समय १४ जेठसम्म २४५ वटा उजुरी परेको जानकारी दिए ।
जोशीकाअनुसार अहिले ती उजुरीको अध्ययन गर्ने, दुवै पक्षलाई बोलाएर छलफल गराउने तथा सहमती गराएर मिलापत्र गराउने काम भइरहेको छ । सोमबारसम्म मिटरब्याज सम्बन्धीका ६४ वटा उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गरिएको छ । ती मध्ये १४ उजुरीमा भने सहमती गरिएको छ । बाँकीको हकमा भने दुवै पक्ष सहमतीमा नआएका कारण थप कारवाहीको प्रक्रिया अघि बढेको छ ।
‘हामीले अहिले प्रशासन कार्यालयमै प्रहरी राखेर मिटरब्याज पीडितले दिएका उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने, सहमती गराउने काम गरिरहेका छौँ,’ जोशीले भने, ‘तर सहमती हुन नसकेमा थप कारवाहीका लागि प्रहरी र अदालत पठाउने गरेका छौँ ।’ उनकाअनुसार मिटरब्याज सम्बन्धी उजुरीमा दिनेहरुमा पैँसा लेनदेन, जग्गा खरिदबिक्रि, ढुकुटी खेलेका जस्ता समस्या रहेका छन् ।
सहमतीको नाममा विचौलिया र कर्मचारीको ‘सेटिङ’
मिटरब्याज सम्बन्धीका उजुरीमा दुवै पक्षसँग छलफल गरेर सहमती गराउने काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले नै मिलापत्रका नाममा विचौलियाको प्रयोग गरेर दुःख दिने गरेको गुनासो गरिएको छ । दुवै पक्षसँग छलफल गरेर समस्या हल गर्न कर्मचारी खटाएर छुट्टै सहायता कक्ष स्थापना गरिएको भएपनि कर्मचारीकैे मिलेमतोमा विचौलियाको प्रयोग भइरहेको पाइएको छ ।
एकजना पीडितकाअनुसार तल्लो तहका कर्मचारीदेखि प्रमुख जिल्ला अधिकारीसम्म आफ्नो पहुँच रहेको बताउने तेजबहादुर देउवाले प्रशासन कार्यालयभित्र विचौलियाको भूमिका खेल्ने गरेका छन् । दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा भेटिने देउवाले मिटरब्याज पीडितको मुद्दा मिलाइने भनेर दुवै पक्षलाई छलफल गराउने, एकलाई अर्काका विरुद्ध उचाल्ने, कम ब्याज तिराउन कर्मचारीलाई मिलाइदिने जस्ता प्रलोभन दिने गरेका छन् । उक्त काम गरेवापत आफूलाई पनि केही सहयोग गर्नुपर्ने पीडित र पीडित दुवै पक्षलाई प्रस्ताव राख्ने गरेको गुनासो गरिएको छ ।
‘हामी वषौँदेखि मिटरब्याजबाट पीडित भएर घरवारबिहीन भएका छौँ । सरकारले अहिले समस्या समाधान गर्ने आश्वासन दिएर उजुरी लिएपछि न्याय पाउने आश गरेका छौँ तर यो प्रशासन कार्यालयमा कर्मचारीको मिलेमतोमा विचौलियाले हामी पीडितबाटै पैँसा असुल्न बार्गेनिङ गरिरहेको छ,’ पीडितले भने, ‘स्थानीय प्रशासन शाखाका कर्मचारीले पनि उनैसँग कुुराकानी गर्नुस् भन्नुहुुन्छ ।’ उनले सुरक्षाका कारण आफ्नो परिचय खुुलाउन चाहेनन् ।
स्थानीय प्रशासन शाखाका खरिदार माधव फुुलाराले उनै देउवालाई भेटेर कुराकानी बाहिरै मिलाएर आफूकहाँ आउन भन्ने गरेका छन् । उक्त कुरा स्वयंम फुलाराले पनि स्वीकार गरेका छन् । ‘उहाँ(देउवा) को हो ? मैले पनि चिन्दैन् तर यहाँ आइराख्ने भएकाले सहजीकरण गरिदिनुस् भनेर भनेको हुँ,’ फुुलाराले भने, ‘प्रशासनको मान्छे नभएपनि यस्ता मुुद्दामा जो सुकैले सहजीकरण गरे पनि के फरक पर्छ र ?’
एक कर्मचारीकाअनुसार विचौलियाको भूमिकामा देखिएका देउवाले मिटरब्याज पीडितलाई अनावश्यक दुःख दिएको भन्दै प्रशासन परिसरमा विवाद भएको थियो । ‘पीडितहरुले हाम्रो बारेमा चासो राख्ने तपाई को हो ? भन्दै देउवालाई हप्काएका थिए,’ ती कर्मचारीले भने, ‘असम्बन्धीत व्यक्तिलाई प्रशासन कार्यालयमा प्रवेश गर्न नदिने भनिएको थियो तर अहिलेपनि दैनिकजसो आइरहन्छन् ।’
प्रशासकीय अधिकृत तथा सूूचना अधिकारी शिवराज जोशीले भने विचौलियाको भूूमिका खेल्ने व्यक्ति नियमित जसो प्रशासन कार्यालयमा आउने गरेको कुुरा सत्य भएको तर मिटरब्याज पीडितको मुद्दामा अनावश्यक दुःख हैरानी दिएको कुरा जानकारी नभएको बताए । प्रशासन कार्यालयले पीडितहरुको सहजीकरणका लागि प्रहरी राखेको बताउदै जोशीले देउवासँग कुुनै सम्बन्ध नभएको बताए ।
जोशीले देउवाले पीडितसँग बार्गेनिङ गरी रकम असुलेको, अनावश्यक दुःख दिएको कुरा खुुलेमा कारवाहीको दायरामा ल्याइने बताए । यता विचौलियाको भूूमिका खेलेको आरोप लागेका तेजबहादुर देउवाले भने आफ्नो सासु आमा पनि मिटरब्याज पीडित भएको बताउँदै सोही उजुुरीमा छलफल गर्न आएका बेला पीडितहरु समस्यामा परेको देखेर सहयोग मात्र गरिदिएको दाबी गरेका छन् ।
‘मैले विचौलियाको भूूमिका खेलेको छैन । न्याय माग्दै प्रशासन कार्यालय पुगेकाहरु यहाँ पनि थप समस्यामा परेको देखेर बिहानै आएर निस्वार्थ रुपले सहयोग गरिदिन्छु,’ प्रशासनमै भेटिएका देउवाले भने, ‘मैले आफूू पहुँच भएको व्यक्ति हुँ भनेर कसैलाई पनि अनावश्यक दुःख, हैरानी दिएको छैन । मिटरब्याज पीडितका समस्या नजिकबाट बुुझेकाले सहयोग मात्र गरिदिएको हुँ ।’