काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञवाली अवकाश भएका छन् ।
२०४३ साल वैशाख १५ गते न्याय सेवाको खरिदारबाट निजामती सेवामा प्रवेश गरेका ज्ञवाली ३७ वर्ष २ महिना व्यथित गर्दै शुक्रवार(आज)देखि अनिवार्य अवकाश भएका हुन् ।
सचिव ज्ञवालीलाई कानून मन्त्री धनराज ज्ञवालीले मायाको चिनोसहित बिदाई गरेका छन् ।
६ वर्ष नायव सुब्बा, शाखा अधिकृत ६ वर्ष, उपसचिव १४ वर्ष, ७ वर्ष सहसचिव र त्यसपछि सचिव पदमा रही काम गरेका ज्ञवालीले जागिरे अवधिमा सचिव भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहसचिव रहँदा कानुन मन्त्रालय, कानुन आयोग र गृह मन्त्रालयमा काम गरे ।
संविधान र सङ्घीयताबारे विशेष जानकार मानिने ज्ञवालीले कर्मचारी समायोजनमासमेत काम गरेका थिए ।
ज्ञवालीको अवकाशसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा लीलादेवी गड्तौला ल्याउने तयारी रहेको बुझिएको छ । यससँगै नेपाल कानुन आयोगको सचिव रहेकी गड्तौला पहिलो महिला कानुन सचिव हुने भाग्यमानी सचिवको अवसर पाउँदै छिन् ।
२०७७ कार्तिकमा सचिव पदमा बढुवा भएकी गड्तौला शाखा अधिकृत, उपसचिव र सहसचिव सम्मै १७ वर्ष कानुन मन्त्रालय बसिसकेकी छिन् । गड्तौलाको अवधि १३ महिना बाँकी छ ।