काठमाडौं– भन्सार छलेर ल्याएको साढे २३ लाख मूल्य बराबरको कपडासहित काठमाडौंको असनबाट दुईजना पक्राउ
परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र १८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।
भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिए ।
उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।