काठमाडौं : नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरुमै विवादमा परेको छ ।
बजार मूल्यभन्दा दोब्बरमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएको छ ।
अख्तियारले २५ असार, २०८० मा यसबारे अनुसन्धान गर्ने निर्णय गरेर नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पत्र लेखेर कोर बैंकिङ प्रणाली खरिदको औचित्य पुष्टि हुने कारण र आधारसहित राय प्रतिक्रिया र कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो । अख्तियारस्रोतले भन्यो, ‘अहिले कागजात अध्ययन गर्ने काम भइरहेको छ ।’
यसबारे सुरुमा अर्थमन्त्रालयमा उजुरी परेको थियो, जुन फाइल उसले अख्तियार पठाइसकेको छ । ‘व्यवस्थापनले योजनाबद्ध रुपमा सफ्टवेयर खरिद प्रक्रिया बढाएको र त्यसले मुलुकको पहिलो बैंकलाई ठूलो आर्थिक नोक्सानी हुने भनी यहाँ उजुरी परेको थियो’, अर्थमन्त्रालय स्रोतले भन्यो, ‘त्यससम्बन्धी सबै विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेका छौं ।’
बैंकले सफ्टवेयर खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसमा फर्मरपरामर्शदाताको योग्यता र अनुभव अन्तराष्ट्रिय विज्ञ हुनुपर्ने भनी तोकिएकोमा त्यस अनुसारको आवेदन नै नपरेको स्रोतले बतायो ।