कञ्चनपुर: पशु चौपायामा महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोग रोक्न कञ्चनपुरको ‘आई केयर यू’ले अभियाम चलाएको छ। विगतदेखि नै सडकमा छाडिएका सामुदायिक चौपायाको उद्धार कार्य गर्दै आइरहेको ‘आइ केयर यू’ले अहिले भ्याक्सिन दिने अभियान चलाएको हो।
संस्थाका संयोजक विष्णु पनेरुले सडकमा छाडिएका र उक्त रोगको जोखिममा रहेका चौपायालाई भ्याक्सिन लगाउने अभियान थालेको बताए। उनका अनुसार हालसम्म २ सय भन्दा बढी चौपायालाई भ्याक्सिन लगाइसकिएको छ।
उनले भ्याक्सिन खरिदका लागि फेसबुक पोस्टमार्फत सहयोगीहरुलाई आव्हान गरेको बताएका छन्। ‘अहिलेसम्म केही पशु प्राविधिक तथा भेट पसलहरुले भ्याक्सिन सहयोग गरेका छन्’ पनेरुले भने, ‘खोपको सहजता भएमा दैजीदेखि गड्डा चौकीसम्मका ५ सय बढी पशु चौपायालाई भ्याक्सिन लगाउने लक्ष्य छ।’
उनले लम्पी स्किन नियन्त्रणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको गुनासो गरे। दिनहुँ हजारौं पशु मरिरहेको अवस्थामा केहीलाई बचाउन आफूहरुले प्रयास गरिरहेको उनको भनाई छ।
पनेरुले भ्याक्सिन अभियानमा सहयोग गर्न इच्छुकलाई संस्थाको मोबाइल नम्बर ९८४८८०२३७२ र ९८०९४१४६४८ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।
आइ केयर यूले कञ्चनपुरमा विगत केही समयदेखि सडकमा छाडिएका चौपायाको व्यवस्थापन तथा उपचारको अभियान थालेको छ। उनीहरु चोटपटक लागेका चौपायाको उद्धार मात्रै गर्दैनन् भोका जनावरलाई खाना खुवाउने काम समेत गर्छन्।