धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेलाई सुदूरपश्चिमको बाजुराबाट प्रतिनिधि सभा सदस्य बनाउने तयारी गरेका छन्। निकट स्रोतका अनुसार लामिछानेले यस विषयमा पार्टीभित्र पनि योजना अगाडि बढाएका छन्।
निकिता लामिछानेले केही समय अगाडि बाजुरामा ‘नारी टिभी’ को उद्घाटन गरेकी थिइन्। महिलाको आवाज बुलन्द गर्ने उद्देश्यले स्थापना गरिएको भनिएको यो टेलिभिजनको अधिकांश कार्यक्रम उत्पादन बाजुरामै हुनेगरी योजना बनाइएको थियो। उद्घाटन समारोहमा बाजुराकी ८४ वर्षीया नन्दा साउदलाई दीप प्रज्वलन गराएर औपचारिक सुरुवात गरिएको थियो।
निकिताको सक्रियता र चुनावी तयारी
२०७९ सालमा रवि लामिछाने चितवनबाट निर्वाचित भएपछि निकिता लामिछानेको बाजुरा आवतजावत बढेको देखिएको छ। सामाजिक सञ्जालमा सक्रिय निकिताले दुर्गम भेगका महिलासँग फोटो खिचाउँदै सामाजिक अभियानका रूपमा आफ्नो छवि निर्माण गर्न थालेकी छन्।
स्रोतका अनुसार, बाजुराका विभिन्न सामाजिक समस्याहरू उजागर गरेर निकिताको छवि सुधार्ने रणनीति अपनाइएको छ। यसै क्रममा, रवि लामिछानेको टिमले केही सामाजिक कार्य गर्दै बाजुरामा प्रभाव जमाउने प्रयास गरिरहेको छ।
विवाद र आरोप
रवि लामिछाने हाल सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका मुद्दामा मुछिएका छन्। यद्यपि, यो विवादले उनलाई रोक्न नसकेको देखिन्छ। त्यसमाथि, नारी टिभीमा सहकारी ठगी आरोपमा फरार रहेका जिबी राईको लगानी रहेको चर्चा पनि बाहिर आएको छ।
नारी टिभीको भूमिकामा प्रश्नचिह्न
बाजुरालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको नारी टिभीको मुख्य कार्यालय काठमाडौंको नागपोखरीमा रहेको छ। यस टिभीलाई निकिताको चुनावी रणनीतिको एक हिस्सा मानिएको छ।
स्रोतका अनुसार, लामिछाने दम्पतीले बाजुराबाट निकितालाई संसदमा पुर्याउन योजनाबद्ध रूपमा काम गरिरहेका छन्। आगामी निर्वाचनमा बाजुरामा प्रत्यक्ष उम्मेदवारको रूपमा निकितालाई प्रस्तुत गर्ने तयारी तीव्र भएको देखिन्छ।
सामाजिक कामको आवरणमा निर्वाचन तयारी गरिरहेको आरोप खेपिरहेका रवि लामिछाने र निकिता लामिछानेको यो अभियानले आगामी दिनमा कस्तो मोड लिन्छ भन्ने चासोको विषय बनेको छ।