धनगढी: अछाममा आगलागी भएको छ। जिल्लाको साँफे हाटबजारमा आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १० पसल पूर्ण रूपमा ध्वस्त हुँदा ३ करोड ८६ लाख ६५ हजार बराबरको धनमाल नोक्सान भएको छ।
शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका-३ स्थित हाटबजारमा विद्युत् सर्ट भएर सुरु भएको आगो करिब ६ बजे निभाइएको थियो।
जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो थप सल्किनबाट रोकिएको थियो।
मंगलसेन नगरपालिकासंग एउटा दमकल छ। भएको दमकम पनि बिग्रिएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयलको सहायतामा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
आगलागीका कारण किराना, कपडा, मोबाइल, फलफूललगायत पसल खरानी भएका छन्।
यसअघि चैत २६ गते मात्र अछामकै जयगढ बजारमा आगलागीले ३५ वटा पसल ध्वस्त भएका थिए। जसबाट ८ करोडभन्दा बढीको क्षति भएको थियो।