काठमाडौं— गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। मन्त्रालयले बिहीबार ६ वटा प्रदेशका प्रमुखहरू हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेलाई कोसी प्रदेशको बराह बाहिनीमा पठाइएको छ। मधेस प्रदेशको छिन्नमस्ता बाहिनीको जिम्मा कृष्ण ढकालले पाएका छन् भने बागमती प्रदेशको गढिमाई बाहिनीको नेतृत्व अन्जनी पोखरेललाई दिइएको छ। यस्तै, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दीपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दीपेन्द्र कुँवर सरुवा भएका छन्।
कर्णाली प्रदेशमा कार्यरत प्रमुख विष्णु भट्ट हाल संयुक्त राष्ट्रसंघीय मिसनका लागि कंगोमा रहेका कारण उनको सरुवा गरिएको छैन। त्यस्तै, सुदूरपश्चिमको वैद्यनाथ बाहिनीको नेतृत्व प्रदीप पालले सम्हाल्ने भएका छन्।
यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई अब स्टाफ कलेजमा सरुवा गरिएको छ। छिन्नमस्ता बाहिनीमा कार्यरत कालिदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ, जसपछि उनी सशस्त्र प्रहरी बलको नयाँ प्रवक्ता पनि बन्ने छन्।
अन्य सरुवामा गढिमाई बाहिनीबाट गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा, र विन्दाबासिनी बाहिनीबाट प्रदीपपाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ। साथै, वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारी पनि मानवस्रोत विभागमा सरुवा भएका छन्।


