काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) वसन्त कुँवर शिक्षिका पत्नी लक्ष्मी पराजुलीका कारण पुनः विवादमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पराजुलीको सरुवा र काज सरुवासम्बन्धी उजुरी परेपछि आयोगले छानबिन प्रक्रिया थालेको हो।
लक्ष्मी पराजुली अर्घाखाँची स्थायी घर भएकी प्रावि शिक्षिका हुन्। उनको स्थायी दरबन्दी पनि त्यहीँको विद्यालयमा थियो। तर चार वर्षअघि माओवादी निकट शिक्षक संगठनसँग आबद्ध रहेकी पराजुलीलाई तत्कालीन माओवादी नेता तथा मन्त्री टोपबहादुर रायमाझीको सिफारिसमा काठमाडौं महानगरपालिका–४ मा पर्ने पञ्चकन्या प्राविमा सरुवा गरिएको थियो।
सरुवापछि वडा अध्यक्ष दिनेश महर्जनको सिफारिसमा उनलाई दरबन्दी नै नभएको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा गराइएको थियो। उनी काजमा बसेको बेला पञ्चकन्यामा महानगरपालिकाले खेताला शिक्षक करारमा राखेको थियो।
चासोको विषय त त्यतिबेला बन्यो, जब कुँवर आइजिपी नियुक्त भए। उनले आइजिपी नियुक्त भएको तेस्रो दिनमै पराजुलीको काज प्रहरी मुख्यालयमै गराए। त्यहाँबाट अवकाश पाएको १० दिनपछि मात्र उनको काज फिर्ता भएको देखिन्छ।
यही प्रक्रियाबारे उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो। आयोगले काठमाडौं महानगरपालिका–४ को वडा कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र पठाएर विस्तृत विवरण मागेको छ। प्रहरी स्रोतका अनुसार पत्र पुगेको पुष्टि भए पनि त्यसको जवाफ पठाइएको वा नपठाइएकोबारे स्पष्ट जानकारी छैन।
पूर्व आईजिपी वसन्त कुँवरको कार्यकाल पनि विवादरहित रहेन। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिए पनि उनी कारबाहीको दायरामा भने परेका छैनन्। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला ठगीसम्बन्धी उजुरीसमेत उनले अगाडि बढाएका थिएनन्। अनुसन्धानका क्रममा त्यस्ता फाइलहरू उनी घरमै लगेर थन्क्याएको खुलासा भएको थियो।
एसएसपी हुँदा भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहँदा पनि उनी उम्किए। अब शिक्षिका पत्नीको काज र सरुवामार्फत भएको अनियमितता उजागर हुँदै जाँदा कुँवर पुनः कानुनी घेरामा पर्न सक्ने संकेत देखिएको छ।