धनगढी- गेटा अस्पतालमा चालु आर्थिक वर्षको अन्त्यतिर बजेट कार्यक्रमभन्दा बाहिर गएर स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ। खरिद प्रक्रिया अघि बढाउँदा स्पेसिफिकेसनमै निश्चित कम्पनी र मोडेल नम्बर उल्लेख गरी प्रतिस्पर्धा नै सीमित बनाइएको देखिन्छ।
अस्पतालले अक्सिजन प्लान्टबाट अस्पतालको भवनमा अक्सिजन पुर्याउन प्रयोग गरिने पाइपलाइनको स्पेसिफिकेसनमा नै एक निश्चित कम्पनीको मोडेल नम्बर उल्लेख गरिएको छ। यस आर्थिक वर्ष २०८१/८२ मा गेटा अस्पतालले सरकारी लगानी उच्च बनाई, कम गुणस्तर भएका उपकरणहरू खरिद गर्न लागेको देखिन्छ। खरिद समितिका सदस्यहरू र अस्पताल प्रमुखबीच मिलेमतो भएको आशंका पनि उठेको छ।
गेटा अस्पतालले यही वैशाख २ गते सार्वजनिक गरेको मेडिकल अक्सिजन पाइपलाइन खरिदमा “जिएसई” नामक कम्पनीको मोडेल नम्बर नै उल्लेख गरिएको छ, जसले सो उपकरणमा अन्य कम्पनीहरूले प्रतिस्पर्धा गर्नै नसक्ने बनाएको छ।
त्यस्तै गरी, न्युरो माइक्रोस्कोप खरिदको स्पेसिफिकेसनमा पनि एक मात्र कम्पनीलाई लक्ष्य गरी मोडेल नम्बरसहित उल्लेख गरिएको छ। जसका कारण प्रतिस्पर्धा गर्न सक्ने सम्भावना समाप्त भएको देखिन्छ।
यी दुई घटनाहरू त केवल उदाहरण मात्र हुन्। यस्ता कार्यहरू बजेट कार्यक्रम विपरीत भईरहेका छन्।
खरिद समिति संयोजक समेत रहेका डा. जगदीश बिष्टले स्पेसिफिकेसन इन्जिनियरले बनाएको भन्दै आफूले हेर्न नपाएको बताए। उनले भने, “खरिद समितिको काम दररेट माग्ने र लागत अनुमान तयार गरी कार्यालय प्रमुखलाई पेश गर्ने मात्र हो।”
त्यस्तै, उनले लागत अनुमान तयार गर्दा बजार मूल्य बुझेर गरेको दाबी पनि गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने आफूलाई गेटा अस्पतालको स्वास्थ्य उपकरण खरिदबारे जानकारी नभएको र विषय बुझेर मात्र केही भन्न सक्ने प्रतिक्रिया दिएका छन्।

यो पनि
गेटा अस्पतालमा नियमविपरीत खरिद प्रक्रिया, अपूर्ण समिति र उच्चस्तरीय सेटिङको आरोप