डडेल्धुराः लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा डडेल्धुरामा एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडा चोकस्थित ‘हाम्रो माछा पसल’का सञ्चालक २५ वर्षीय विरेन्द्र बोगटी(मछ्छी भाइ) लाई प्रहरीले पक्राउ गरिएको हो।
बोगटी लागुऔषध खैरो हिरोइन ओसारपसारमा संलग्न रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।
कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९. ९० ग्रामसहित गत असार ९ गते बझाङ तलकोट गाउँपालिका–१ बस्ने २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ बस्ने राजकुमार रोकायालाई पक्राउ गरेको थियो।
डीएसपी भट्टका अनुसार प्रहरी अनुसन्धानमा उनीहरू सँगै बोगटीको पनि लागुऔषध ओसारपसारमा संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।
पछिल्लो समय लागुऔषध नियन्त्रणमा डडेल्धुरा प्रहरी सक्रिय छ। जिल्लामा लागुऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्दै आएको छ।