धनगढीः धनगढी उपमहानगरपालिका परिसरमा जडान गरिएको विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । आइतवार उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले संयुक्त रुपमा चार्जिङ स्टेसनको उद्घाटन गरे ।
विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उपमहानगरले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको नगरप्रमुख गोपाल हमालले बताए । उनले फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रबर्द्धन गर्ने बताए ।
गाडी चार्ज गर्न बिहान र राति १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैया २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ प्रति युनिट शुल्क तोकिएको छ । ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।