कैलाली: कैलालीमा ट्रकले किचेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-८ बढैपुरका हावा चौधरीकी २३ वर्षीया छोरी अनिता चौधरीको ट्रकले किच्दा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी आज बिहान २ बजेतिर गौरीगंगा-८ बढैपुरस्थित पूर्व पश्चिम राजमार्गमा टाउकोमा चोट लागेर गम्भीर घाइते भई बिच सडकमा पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
मृतक चौधरीको टाउको किचिएको अवस्थामा रहेको सेती अस्पतालबाट बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विगत ३/४ वर्षदेखि उनको मानसिक अवस्था ठिक नरहेको र राति १२ बजेको समयमा उनी घरबाट निस्केकी खुल्न आएको प्रहरीले बताएको छ ।
उनलाई वीरगञ्जबाट धनगढीतर्फ आउँदै गरेको हार्डवेयरको सामान बोकेको बागमती प्रदेश ०३–००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको बताइएको छ । चालक सर्लाही ईश्वरपुर नगरपालिका-१३ का ३० वर्षीय होमबहादुर रानामगरलाई इलाका प्रहरी कार्यालय मलाखेतीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।
ट्रकबारे सीसीटिभी फुटेजबाट थाहा भएको र चालकले पनि घटना स्वीकारेको जनाइएको छ ।