कैलाली: तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग गरेको भन्दै ५ हजार २ सय ६७ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७७/०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए।
आर्थिक वर्ष ०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो। गत आर्थिक वर्ष (०७९/०८०) १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ। तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन्।
तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् । यस जिल्लामा ०७७/०७८ मा ४ सय ६०, ०७८/०७९ मा ४ सय ६३ र ०७९/०८० मा ४ सय ५७ उजुरी परेकामा हाल ६३ थान उजुरी अनुसन्धानका क्रममा रहेका छन् । यस जिल्लाबाट परेका उजुरीमध्ये १ सय ५९ हाल अनुसन्धानको क्रममा रहेका छन्। सबैभन्दा कम बाजुराबाट २ सय ८४ उजुरी परेका छन्। यस जिल्लाबाट परेका उजुरीमध्ये हाल अनुसन्धानमा ५३ उजुरी रहेका छन्।